Saturday, August 1, 2015

उ हाँस्यो!!

नाम रुन्चे थियो
तर, आज हाँस्यो
सुनौला दांत देखायो
कलेटी ओठ तन्कायो
मुख केहि खुल्यो
भित्रैबाट जिब्रोले धर्ति चियायो
निदार खुम्चिएजस्तो भो
आँखाको छेउमा मुजा पर्यो
र त सबैले भने,
उ हाँस्यो

उ अझसम्म कहिल्यै हाँसेन
वा भनुं हास्नै जानेन
वा हास्नु आफ्नो बसको कुरै ठानेन
कि त उसको मन खुसी नभएको हुनुपर्छ
कि त हासो आफ्नो जिन्दगीमै नभएको ठान्नुपर्छ
जे होस्,
आज भन्दा पहिले कहिल्यै हाँसेको थिएन
तर आज हाँस्यो

आमा सानैमा मरिन
बाउले हँसाउने फुर्सद पाएनन्
आधापेटमा, मन बौरिएन
हाड-छालाको डीयाले हसाउन जानेन
पुस्तकका कुरा पढ्न जानेन
त्यसैले त उ हाँस्न मानेन

घरको भित्ताले रंग मागिरह्यो
छानोको घाउ बर्खाभरी चर्याईरह्यो
देवताहरु कैद भए,
रामनामीमा राक्षसको हुंकार चल्यो
समाजको मुखमा ताला लाग्यो
देशमा सिन्डिकेटको लाईन पर्यो
अब भन्नुस,
उ कसरी हाँस्न सक्थ्यो

उ हाँस्यो
उ हाँस्नुको कडी एउतै थियो; भुइँचालो
सबलाई रुवाएपानी, 
उसलाई हँसाएको थियो
बर्खाको झरी जस्तो,
उसलाई रातभरी उठाएर,
अरुलाई मस्त निद्रा दिएको थिएन
हुनेखाने र हुंदाखानेमा, 
फरक पर्न दिएन
अपाङ्ग कानुन जस्तो, 
काखा-पाखा गरेन
कालो-सेतो, अग्लो-होंचो, नेप्टो-चेप्टो, दुब्लो-मोटो
 अहँ केहि भनेन
माटो नटेकी माटो सोस्नेहरुलाई
माटोको गन्ध सुंघायो
त्यसैले त उ मुस्कुरायो

भोलिपल्ट;
मुस्कुंराउदै, 
रुन्चे डाँडाको मन्दिर चड्यो
मन्दिर भत्किएको,
ताला मारिएको ढोका बन्द्र्यांग अघि
गारोहरु गन्द्र्यांगगुन्द्रुंग छेउ-छाउ
बिचमा एक मुर्ती,
उस्तै शालीन, सभ्य र भब्य
अनि कता कता, मुर्तीमा
आफ्नै मृत बाजेको हात देख्यो
उ खित-खिताएर हाँस्न थाल्यो
भन्न थाल्यो, मैले भगवान देखें
सबले पागल भने
तर उ रोकिएन
चिच्याई रह्यो
मैले भगवान देखें
उ खित्खिताएर हाँस्यो

उ हाँसिरह्यो!!